सुरक्षित बाल खेलौना : के तपाईँका बालबालिकाका खेलौना सुरक्षित छन्?


नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युनिसेफ नेपाल, नेपाल हस्तकला महासंघ
खेलौनाहरूले बालबालिकामा सिर्जनशीलता, रचनात्मकता, क्रियाशीलता, समस्या समाधान गर्ने क्षमताहरूको विकासमा मद्दत पुग्दछ यस्ता वस्तुहरू सामान्यतया १६ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी बनाइएका हुन्छन्

बालबालिकाको शारीरिक, सामाजिक, भावनात्मक र बौद्धिक विकासमा टेवा पुर्‍याउने र कुनै किसिमको हानि नोक्सानी नगर्ने खेलौनाहरू सुरक्षित खेलौना हुन् । बालबालिकाको उमेर अनुसारका, तोकिएको मापदण्ड पूरा गरी बनाइएका र गुणस्तर  प्रमाणीकरण चिन्ह भएका,  धारिला वा तीखा किनाराहरू नभएका, आगो नबल्ने, नपड्किने गरी बनाइएका, बालबालिकाले सम्हाल्न सक्ने तौल भएका, आवाज निस्कने खेलौना भएमा चर्को आवाज नभएका, घाँटीमा अड्किने र निलिन सक्ने खालका वस्तुहरू प्रयोग नगरिएका र अत्यधिक चुम्बकीय वस्तुहरू प्रयोग नभएका खेलौनाहरू सुरक्षित हुन्छन् ।

तर कतिपय खेलौनामा आँखाले देख्न सकिने भौतिक पदार्थ, जस्तैः धुलो, माटो, फोहर वा आँखाले देख्न नसकिने किटाणुहरू टाँसिएका हुन सक्दछन् र तिनले स्वास्थ्य सम्बन्धी समस्या निम्त्याउँछन् । खेलौनाहरूलाई बढी आकर्षक, नरम बनाउने र आकार मिलाउने आदि प्रयोजनले खेलौनाहरूमा गह्रौं धातु तथा विषाक्त रसायनहरूको धेरै प्रयोग गरिएको पनि पाइएको छ । यसबाट खेलौनाहरू हानिकारक बन्न पुग्दछन् । ठूलो आवाज आउने खेलौनाहरूले बालबालिकाको श्रवणशक्ति र ज्यादा चम्किलो वा बहुरङ्गी खेलौनाहरूले बालबालिकाको दृष्टिशक्तिलाई कमजोर बनाउन सक्दछन् । बालबालिकाले निल्न सक्ने तथा घाँटीमा अड्किन सक्ने स–साना गुच्चाहरू, बटन, मोती जस्ता दानाहरू वा त्यस्तै गेडागुडी प्रयोग गरिएका खेलौनाहरू हानिकारक हुन सक्दछन् । 

सुरक्षित खेलौना निर्माणका लागि यससंग सम्बन्धित विभिन्न पक्षका दायित्वहरू के-के हुन् त?

उत्पादकहरूको दायित्वः

  • सुरक्षित खेलौनाका डिजाइनहरू तयार गर्नु र सम्बन्धित निकायमा दर्ता हुनु
  • राष्ट्रिय मापदण्डलाई पालना गरेर उत्पादन गर्नु र त्यस्ता मापदण्डहरूमा कुनै परिवर्तन भएमा सो अनुसार गर्नु
  • खेलौनाका प्याकेटहरूमा गुणस्तर मापदण्ड वा प्रमाणीकरण चिन्ह तथा खेलौना सम्बन्धी सूचनामूलक जानकारीको सूचीपत्र (लेबल) राख्नु र लेबललाई स्थानीय भाषा र अंग्रेजी भाषामा लेख्नु
  • उत्पादित सामग्रीहरू बजार पठाइसकेपछि त्यसको उपभोगको अवस्था, त्यसमा देखिएका समस्या तथा गुनासाहरूको सम्बन्धमा नियमित अनुगमन गर्नु 

 

आयातकर्ताहरूको दायित्वः

  • बजारमा पुर्‍याउनु भन्दा अगाडि त्यसमा गुणस्तर चिन्ह, आवश्यक लेबल वा सूचनाहरू भए नभएको निश्चित गर्नु
  • मापदण्ड अनुसार उत्पादन भए नभएको निश्चित गर्नु र सो नभएमा उत्पादक तथा निगरानी गर्ने सम्बन्धित संस्थाहरूमा सूचना गर्नु
  • सामानहरू खरिद गर्दा उत्पादकको नाम, आधिकारिक दर्ता नम्बर तथा स्थानीय भाषामा सो सम्बन्धी सूचना भए नभएको हेर्नु र उचित तरिकाले भण्डारण भएको सुनिश्चित गर्नु
  • खेलौनाबाट कुनै चुनौती देखिएमा सम्बन्धित निकायलाई समयमा नै सूचना दिनु
  • आयात गर्दा रासायनिक डाटा सीट (Chemical Data Sheet) र Testing Certificate लाई आधार मानेर मात्र आयात गर्नु

 

वितरकहरूको दायित्वः

  • बजारमा पुर्‍याउनु भन्दा अगाडि उत्पादकले मापदण्ड पूरा गरे नगरेको र आवश्यक सूचनाहरू त्यसमा उल्लेख भए नभएको सुनिश्चित गर्नु
  • गुणस्तरमा केही समस्या देखिएमा तत्कालै उत्पादक तथा सम्बन्धित निकायमा जानकारी गराउनु
  • उपभोक्ताको अनुभव तथा गुनासाहरूका आधारमा सुधार गर्न उत्पादक तथा नियामक निकायलाई सुझावहरू दिनु

 

ग्राहक/उपभोक्ताहरूको दायित्व:

  • किनिएका वस्तुहरू उपयोग गर्न योग्य वा सुरक्षित छन् छैनन् निश्चित गर्ने
  • खेलौनाहरूमा आवश्यक सूचनाहरू (जस्तैः उमेर समूह, प्रयोग गर्ने विधिहरू, प्रयोग समाप्त हुने मिति, सावधानीहरू आदि) उल्लेख गरिएका छन् छैनन् त्यसको सुनिश्चितता गर्ने
  • खेलौना सम्बन्धी कुनै प्रतिक्रिया वा गुनासाहरू भएमा सम्बन्धित उत्पादक वा नियामक निकायलाई जानकारी गराउने

 

सरकारको दायित्व:

  • मापदण्डहरू निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन गर्ने नीति नियमहरू बनाउने । मापदण्डहरू पूरा गरे नगरेको परीक्षण गर्ने प्रणाली विकास गरी कार्यान्वयन गर्ने
  • अनुगमन गर्ने प्रणालीलाई प्रभावकारी बनाउने र नियम पालना नगरेको पाइएमा कारबाही गर्ने
  • समय अनुसार नीति नियम तथा मापदण्डहरूमा आवश्यक सुधार संशोधन गर्ने

जानकारीमूलक सामग्रीहरू